नेपाल मोरिससविरुद्ध दोस्रो जितको खोजीमा
काठमाडौँ, माघ १८ गते । नेपालले मंगलबार (आज) दशरथ रंगशालामा अफ्रिकी देश मोरिसससँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । साँझ ४ः४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
यसअघि शनिबार भएको खेलमा नेपालले मोरिससलाई १–० गोलले पराजित गरेको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गर्नुभएको थियो । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दोस्रो खेलमा थप सुधारिएको प्रदर्शन गर्ने बताउनुभएको छ ।
‘मोरिसससँगको खेल जितसँगै नेपाली टोलीको स्तर बढाउने अवसर हो । मैत्री खेलको सफलताले विफा वरीयतामा सुधार गर्नुका साथै एसिया कप छनोट खेल र विश्वकप छनोटलाई सहयोग गर्नेछ,’ अल्मुताइरीले भन्नुभयो ।
अल्मुताइरीले सोमबारमात्र टोलीमा दुई जना खेलाडी परिवर्तन गर्नुभएको छ । यसअघि घोषणा गरिएका रक्षक अनन्त तामाङ र प्रशान्त अवस्थीलाई बाहिर राख्दै मनिष डाँगी र दर्शन गुरुङलाई टोलीमा राख्नुभएको छ । अल्मुताइरीले नयाँ खेलाडीलाई मौका दिने उद्येश्यले यस मैत्रीपूर्ण खेलका लागि दुई वटा टोली बनाउनुभएको थियो ।
यसैगरी मोरिसस पनि दोस्रो खेल जित्ने तयारीमा छ । मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले टोलीले साँढे दुई बर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेकोले पहिलो खेलमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बताउनुभयो ।
‘पहिलो खेल सोचेजस्तो भएन । दोस्रो खेलमा पहिलो खेल गुमाएका चारजना खेलाडीलाई खेलाउनेछौँ । नेपाल राम्रो छ । तर हामी कडा टक्कर दिनेछौँ,’ टोलीले भन्नुभएको छ । यद्यपी शारिरिक रुपले बलियो मोेरिसस र प्राविधिक रुपले केही अब्बल देखिएको दुई टोलीको खेल रोचक हुने अपेक्षा गरिएको छ ।
दोस्रो खेलका लागि नेपाली टोली :
कप्तान किरण चेम्जोङ, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तीमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ र सन्तोष तामाङ ।