फुटबल | खेलकुद |

भारतलाई यू–१९ विश्वकप क्रिकेट उपाधि

काठमाडौँ, माघ २३ गते । यू–१९ विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । वेस्टइन्डिजमा शनिबार राति सम्पन्न फाइनल खेलमा भारतले इङ्ल्यान्डलाई चार विकेटले हरायो । भारत पाँचौँ पटक यू–१९ विश्वकप च्याम्पियन बनेको हो । भारतले यसअघि सन् २०००, २००८, २०१२ र २०१८ मा च्याम्पियन बनेको थियो ।

जितका लागि एक सय ९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । भारतको जितमा निशान्त सिन्धुले अविजित ५० रन बनाउनुभयो । शेख राशिदले ५०, राज बावाले ३४, हरनुर सिंहले २१ र कप्तान यश धुलले १७ बनाउनुभयो । बलिङमा इङ्ल्यान्डका जोशुआ बोेयडेन, थोमस एस्पिनवाल र जेम्स सेल्सले समान दुई दुई विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ४४.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८९ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रन बनाउनुभयो । जेम्स सेल्सले अविजित ३४ र ओपनर जर्ज थोमसले २७ रन बनाउनुभयो । बलिङमा भारतका राज बावा एक्लैले पाँच विकेट लिनुभयो । राज कुमारले चार विकेट झार्नुभयो । एजेन्सी