फुटबल | खेलकुद |

स्पेनिस ला लिगा : सेभियालाई ओसासुनाको धक्का

काठमाडौँ, माघ २३ गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको सेभियालाई मध्यमटोली ओसासुनाको धक्का लागेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानमा आसिन सेभिया ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ ।

प्रतिस्पर्धात्मक खेलमा सेभियाले ७४ प्रतिशत बल पोससन राखेपनि गोल गर्न भने सकेन । खेलभर नौ वटा पोस्ट् प्रहार गरेको सेभिया अन्ततः अंक बाँड्न बाध्य भयो । ओसासुनाले पनि नौ वटै पोस्ट् प्रहार गरेको थियो । सेभियालाई रोक्ने योजना बनाएको ओसासुना आफ्नो रणनितिमा सफल बन्यो ।

ओसासुनाका सर्जिओ हेरेरा ‘म्यान अफ दि म्याच’ हुनुभयो । बराबरीसँगै सेभियाले शीर्षटोली रियल म्याड्रिडसँग अंक दुरी घटाउने अवसर गुमायो । दोस्रो स्थानमा यथावत सेभियाको २३ खेलबाट ४७ अंक पुगेको छ । रियलको २२ खेलबाट ५० अंक छ । सेभियालाई रोकेको ओससुना २९ अंक सहित १२औँ स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ४० अंक छ ।

घरेलु मैदानमा भएको अर्को खेलमा सेल्टा भिगोले रायो भालेकानोलाई २–० गोलले हरायो । सेल्टा भिगोको जितमा दुवै गोल ब्रेस मेनडेजले गर्नुभयो । १२औँ मिनेटमा खाता खोल्नुभएका ब्रेसले दोस्रो गोल ८०औँ मिनेटमा डेनिस स्वारेजको पासमा थप्नुभएको थियो । जितसँगै १०औँ स्थानमा उक्लिएको सेल्टा भिगोले २३ खेलबाट ३० अंक बनाएको छ । पराजित रायो भालेकानो ३१ अंक सहित नवौँ स्थानमा छ ।

अन्य खेलमा इल्चेले घरेलु मैदानमा अलाभेसलाई ३–१ र मालोर्काले काडिजलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै २६ अंक बनाएको इल्चे १४औँ र २३ अंक बनाएको मालोर्का १७औँ स्थानमा छ । पराजित अलाभेस र काडिज रेलिगेसनको दबाबमा छ । १८ अंक बनाएको काडिज १८औं र १७ अंक बनाएको अलाभेस १९औँ स्थानमा छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी