फुटबल | खेलकुद |

च्यासलमाथि पुलिसलाई सफलता

काठमाडौँ, माघ २६ गते । शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत च्यासलका अधिकांश खेलाडीलाई कोरोनाका संक्रमण भएपछि रोकिएको च्यासल र नेपाल पुलिस क्लबबीचको नवौँ चरणको खेल बुधबार सम्पन्न भएको छ । दशरथ रंगशालामा भएको खेलमा पुलिसले च्यासललाई २–१ गेलले हरायो ।

पुलिसको जितमा दुवै गोल रवि पासवानले गर्नुभयो । च्यासलका लागि मौसा अवागानाले एक गोल फर्काउनुभयो । पुलिसले ३७औँ मिनेटमा गोलको खाता खोलेको थियो । रविले नीरकुमार राईको पासमा गोल गर्दै पुसिलसको उत्साह जगाउनुभयो ।

च्यासलले दोस्रो हाफको सुरुवातमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । ५३औँ मिनेटमा मौसाले पेनाल्टीमा गोल गर्दै च्यासललाई खेलमा फर्काउने प्रयास गर्नुभयो । डिबक्सभित्र पुलिसका कप्तान सुमन सुवेदीले रुमेश बर्तौलालाई लडाएपछि च्यासलले पेनाल्टीको मौका पाएको थियो ।

त्यसपछि ७०औँ मिनेटमा रविले ब्यक्तिगत दोस्रो गोल थप्दै पुलिसलाई जिताउनुभयो । रवि ‘म्यान अफ दि म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नुभयो । च्यासलका आशिष राई ‘इमर्जिङ प्लेयर’ चुनिनुभयो । उहाँले पाँच हजार रुपियाँ पुरुस्कार प्राप्त गर्नुभयो ।

जितसँगै १० अंक बनाएको पुलिस १०औँ नै स्थानमा उक्लिएको छ । पाँच अंक बनाएको च्यासल रेलिगेसनको दबाबमा छ । च्यासल तालिकाको १३औँ स्थानमा छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले १०औँ चरणदेखिका खेल शुक्रबारदेखि सञ्चालन गर्नेभएको छ ।