फुटबल | खेलकुद |

डि जोङको गोलले हारबाट जोगियो बार्सिलोना

काठमाडौँ, फाल्गुन २ गते । इन्जुरी समयमा लुक डि जोङले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोना हारबाट जोगिएको छ । आइतबार राति भएको तनावपूर्ण खेलमा बार्सिलोना स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले १० र स्पान्यालले नौ खेलाडीमा खेल सकेको थियो । घरेलु मैदानमा स्पान्योलका सर्गी डार्डेर र राउल डे टोमसले गोल गर्नुभयो । बार्सिलोनाका पेड्री र लुक डि जोङले गोल गर्नुभएको थियो । खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएको थियो ।

दोस्रो मिनेटमै पेड्रीले जोर्डी अल्वाको पासमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । त्यसपछि ४०औँ मिनेटमा सर्गी डार्डेरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । उहाँले राउल डे टोमसको पासमा गोल गर्नुभएको थियो । ६४औँ मिनेटमा राउल डे टोमसले सर्गीको पासमा गोल गर्दै स्पान्योललाई अग्रता दिलाउनुभयो । अन्तिम समयमा खेल तनावपूर्ण बन्यो ।

इन्जुरी समयमा विवादमा उत्रिएपछि बार्सिलोनाका जेरार्ड पिके र स्पान्योलका निको रिवाउडो दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनुभएको थियो । त्यसपछि दुवै टोली १० खेलाडीमा समेटिएका थिए । इन्जुरी समयकै छैटौँ मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाउनुभयो । ८८औँ मिनेटमा पेड्रीको स्थानमा मैदान छिर्नुभएका डि जोङले एडमा ट्राओेरेको पासमा गोल गर्नुभएको थियो ।

लगत्यै मनु मोर्लानेसलाई रेफ्रीले सोझै रातो कार्ड देखाएपछि स्पान्योलले नौ खेलाडीमा खेल सकेको थियो । ६४ प्रतिशत बल पोसेसन राखेपनि बार्सिलोनालाई हार जोगाउन हम्मे हम्मे परेको थियो । बराबरीसँगै बार्सिलोना चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २३ खेलबाट ३९ अंक छ ।

समान ३९ अंक बनाएको एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौँ स्थानमा छ । एक खेल बढी खेलेको स्पान्योल २८ अंक सहित १३औँ स्थानमा छ । आइतबार रातिनै भएको खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले १० खेलाडीमा समेटिएको लिभान्तेलाई ४–२ गोलले हरायो । जितसँगै बेटिसले २४ खेलबाट ४३ अंक बनाएको छ । पराजित लिभान्ते ११ अंक सहित अन्तिममा छ ।

दोस्रो स्थानमा रहेको सेभियाको ५० र शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ५४ अंक छ । अन्य खेलमा सोसिडाडले ग्रानाडालाई २–० तथा अलाभेसले भ्यालेन्सियालाई २–१ गोलले पराजित गरेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी