एन्फामा फिफा र एएफसीबाट मेडिकल कोर्ष गरेको टिम छ : तुलाधर
कठमाडौँ, फाल्गुन ३ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले एन्फामा विश्व फुटबल महासंघ (फिफां) र एसियाली फुटबल महासंघ (एएफसी) बाट मेडिकल कोर्ष गरेको स्वास्थ्य टिम रहेको बताउनुभएको छ ।
दशरथ रंगशालमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शनिबार च्यासल र मच्छिन्द्रबीच शनिबार भएको खेलमा मच्छिन्द्रका खेलाडी मनिष डाँगीले विपक्षी खेलाडीसँग ठोकिएर टाउकोमा गल्भीर चोट बोकेपछि एन्फाको चर्को आलोचना भएको थियो ।
मैदानमा अचेत भएर ढल्नुभएका डाँकीको उपचारमा एन्फाले तत्काल मेडिकल टोली खटाउन नसक्दा आलोचना खेपेको थियो । डाँगीलाई फिजियोबाट प्राथमिक उपचार गरेर नजिकैको ब्लुक्रस अस्पताल लगिएको थियो ।
राष्ट्रिय टोलीका खेलाडी समेत रहनु भएका डाँकीको स्वास्थ्यको विषयमा एन्फाले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । डाँगी मंगलबार दिउँसो नै अस्पतारबाट डिस्चार्ज हुनुभएको छ । पत्रकार सम्मेलनमा एन्फाका महासचिव तुलाधरले खेलाडीको स्वास्थ्यको विषयमा एन्फा सँधै संवेदनशील रहेको बताउनुभयो ।
‘मैदानमा एन्फाले फिफा र एएफसीको गाइडलाइन अनुसारको चार जना मेडिकल टिम खटाएको छ । हामीले खेलाडीको सेफ्टीमा महत्व दिएका छौँ । सबैको मेडिकल र बीमा गरेका छौँ । मैदानमै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा छ,’ तुलाधरले भन्नुभयो । उहाँले खेलाडीको स्वास्थ्य भन्दा ठूलो केही नभएकोले गल्ती भए आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।