‘बी’ डिभिजन लिग यसै महिना
काठमाडौँ, फाल्गुन ४ गते । सहिद स्मारक ‘बी’ डिभिजन लिग यसै महिनाबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिग फागुन १८ देखि चैत २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।
एन्फाले लिगको खेल तालिमा समेत सार्वजनिक गरेको छ । लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् । एन्फाले लिगमा सहभागी क्लबलाई तयारी खर्च स्वरुप १२ लाख ५० हजार रुपियाँ प्रदान गर्ने पनि जनाएको छ ।
यसैगरी लिगको च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको प्रत्येक खेलमा जित्ने टोलीलाई २५ हजार, लिगको अनुशासित टोलीलाई एक लाख, सवोत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समान ५० हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।