मध्यपुरलाई बिज एजुकेशनको साथ
काठमाडौँ, फागुन ४ गते । भक्तपुरको ‘बी’ डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनलाई बिज एजुकेशन कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन बन्ने योजनाका साथ तयारी गरिरहेको मध्यपुरलाई बिज एजुकेशनले ५ वर्षका लागि मुख्य प्रायोजन तथा लिनिङ र युक्यानले किट्स प्रायोजन गरेको हो ।
प्रायोजन सम्बन्धी छुट्टा छुट्टै सम्झौता पत्रमा बुधबार क्लबका अध्यक्ष उपेन्द्रमान सिंहले बिजका प्रबन्ध निर्देशक हरि कार्की तथा लिनिङ र युक्यानका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार बिजले मध्यपुरलाई ‘बी’ डिभिजनमा रहँदा सम्म बार्षिक १० लाख र ‘ए’ डिभिजनमा बढुवा भएको खण्डमा बार्षिक ३० लाख रुपियाँ उपलब्ध गराउने प्रबन्ध निर्देशक कार्कीले जानकारी दिनुभयो ।
यसैगरी लिनिङ तथा युक्यानका प्रमुख कार्यकारी अधिकृत महर्जनले ६ वर्षदेखि क्लबसँ सहकार्य गर्दै आएको र भविष्यमा पनि क्लबलाई आवश्यक खेल पोशाक, किट्सलगायत सम्पूर्ण सामग्री उपलब्ध गराउने बताउनुभयो । किट्स करिव नौ लाख रुपियाँ बराबरको रहने बताइएको छ ।
क्लबका उपाध्यक्ष एवं लिगका संयोजक अष्टनारायण कवेले विगतमा आर्थिक अभावका कारण ‘ए’ डिभिजनमा बढुवा भएर पनि टिक्न नसक्दा दुःख लागेको भन्दै आगामी दिनमा क्लबलाई सबैको सहयोगले फेरि ‘ए’ डिभिजनमा बढुवा गर्ने बताउनुभयो ।
क्लबलाई मध्यपुर ठिमी नगरपालिकाले पनि विभिन्न शीर्षकमा वार्षिक २० लाख रुपियाँ सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष सिंहले जानकारी दिनुभयो । मध्यपुर अहिले आफ्नै भवन, होस्टेल र मैदान भएको क्लब हो । क्लबले ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘बी’ डिभिजन लिग फुटबल फागुन १८ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ ।