फुटबल | खेलकुद |

स्पेनिस ला लिगा : एट्लेटिकोलाई लिभान्तेको धक्का

काठमाडौँ, फागुन ५ गते । साविक विजेता एट्लेटिको म्याड्रिडलाई स्पेनिस ला लिगामा पुछारमा रहेको लिभान्तेको नमिठो धक्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा एट्लेटिको लिभान्तेसँग १–० गोलले पराजित भयो ।

प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोलाई हराउन लिभान्तेका गोन्जालो मेलेरोले निर्णायक गोल गर्नुभयो । मेलेरोले ५४औं मिनेटमा जर्ग डि फ्रुटोसको पासमा गोल गर्नुभएको थियो । ५४ प्रतिशत बल पोसेसन राख्दै १० वटा पोस्ट् प्रहार गरेको एट्लेटिको अन्ततः हार खेप्न बाध्य भयो ।

हारसँगै एट्लेटिकोले शीर्ष चारमा उक्लने मौका गुमायो । पाँचौँ स्थानमा रहेको एट्लेटिको २४ खेलबाट ३९ अङ्क पुगेको छ । एक खेल कम खेल्दै समान ३९ अङ्क बनाएको बार्सिलोला गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

एट्लेटिकोलाई हराएपनि १४ अङ्क बनाएको लिभान्ते तालिकाको अन्तिममा यथावत् छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ५४ अङ्क छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४३ अङ्क छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले मार्फत प्रसारण गरेको छ । एजेन्सी