फुटबल | खेलकुद |

युरोपा लिग : सेभियाले जित्दा बार्सिलोना बराबरीमा रोकियो

काठमाडौँ, फाल्गुन ६ गते । स्पेनिस क्लब सेभियाले युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा सानदार जित निकाल्दा बार्सिलोना बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सेभियाले क्रोएसियाको क्लब डाइनामो जाग्रिवलाई ३–१ गोलले हरायो । अर्को खेलमा बार्सिलोना इटालियन क्लब नापोलीसँग १–१ गोलको बराबरीमा रोकियो ।

सेभियाको सहज जितमा इभान राकिटिक, लुकास ओकम्पास र एन्थोनी मार्सियलले गोल गर्नुभयो । डाइनामो जाग्रिवका मिस्लाभ ओर्सिसले एक गोल फर्काउनुभयो । जितसँगै सेभियाले युरोपा लिगको प्रिक्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यसैगरी बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा नापोलीले सुरुवाती अग्रता लिएको थियो । नापोलीका पिओटर जिलेन्स्कीले २९औँ मिनेटमा खाता खोल्नुभयो । बार्सिलोनाका फेरान टोरेसले ५९औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

अन्य खेलमा रेन्जर्सले बोरुसिया डर्टमन्डलाई ४–२, एफसी सेरिफले ब्रागालाई २–०, रियल बेटिसले जेनिथ सेन्ट पिटर्सबर्गलाई ३–२, एफसी पोर्टोले लाजियोलाई २–१ र एटलान्टाले ओलम्पियाकोसलाई २–१ गोलले हराएको छ । रियल सोसिडाड र आरबी लेइपजिग २–२ गोलको बराबरीमा रोकिएको छ । एजेन्सी