फुटबल | खेलकुद |

स्पेनिस ला लिगा : रियलको सानदार जित

काठमाडौँ, फाल्गुन ८ गते । शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्काे असेन्सियो र भिनिसियस जुनियर गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा असेन्सियोेले ६३औँ मिनेटमा खाता खोल्नुभयो । उहाँले बेन्जेमाको पासमा गोल गर्नुभएको थियो ।

८०औँ मिनेटमा भिनिसियसले बेन्जेमाकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । जारी सिजन ला लिगामा भिनिसियसको यो १३औँ गोल हो । सर्वाधिक गोल कर्ताको दोस्रो स्थानमा रहनुभएका भिनिसियसले पाँच असिस्ट पनि दिनुभएको छ । त्यसपछि इन्जुरी समयमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई फराकिलो जित दिलाउनु । डिबक्सभित्र रोड्रिगोलाई फ्लोरियन लेजिउनीले फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसलाई बेन्जेमाले सदुपयोग गर्नुभएको थियो ।

जारी सिजन ला लिगामा बेन्जेमाको यो १८औँ गोल हो । सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहनुभएका बेन्जेमाले नौ असिस्ट पनि दिनुभएको छ । ७० प्रतिशत बल पोसेसन राखेको रियलसामु पाहुना टोली अलाभेस निरिह बन्यो । जितसँगै रियलले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ । रियलको २५ खेलबाट ५७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित अलाभेस २० अंक सहित १९औँ स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई उसकै मैदानमा ३–० गोलले हरायो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस स्वारेज र एन्जल कोरेआले गोल गर्नुभयो । जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोकोले २५ खेलबाट ४२ अंक बनाएको छ ।

पराजित ओसासुना ३२ अंक सहित नवौँ स्थानमा छ । अर्को खेलमा भिल्लारियलले ग्रानाडालाई ४–१ गोलले हराएको छ । गेटाफे र काडिजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी