लिभरपुल र चेल्सीले जित्दा सिटी पराजित
काठमाडौँ, फाल्गुन ८ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा दोस्रो र तेस्रो स्थानमा रहेको लिभरपुल र चेल्सीले जित निकाल्दा शीर्ष टोली म्यानचेस्टर सिटी पराजित भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी टोट्टनहामसँग ३–२ गोलले पराजित हरायो । लिभरपुलले नर्विच सिटीलाई ३–१ गोलले हरायो । चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोलले स्तब्ध बनायो ।
रोचक खेलमा टोट्टनहमलाई जिताउन ह्यारी केनले दुई र ह्युङ मिन सनले एक गोल गर्नुभयो । सिटीका इल्केए गुन्डोगान र रियाद महारेजले गोल गरेपनि टोलीको हार टरेन । यस हारसँगै सिटीले शीर्ष स्थानमा नौ अंकको अग्रता बनाउने अवसर गुमाएको छ । सिटी लिभरपुलभन्दा ६ अंकले अगाडी छ । शीर्षस्थानमा रहेको सिटीको २६ खेलबाट ६३ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ । सिटीलाई हराएको टोट्टनहाम ३९ अंक सहित सातौँ स्थानमा छ ।
यसैगरी घरेलु मैदानमा लिभरपुललाई पूनरागमन जित दिलाउन साडियो माने, मोहम्मद सलाह र लुइस डियाजले गोल गर्नुभयो । नर्विचका मिलोट रासिकाको गोल सान्त्वना बन्यो । सबै गोल दोस्रो हाफमा भएको थियो । हारसँगै १७ अंक बनाएको नर्विच तालिकाको अन्तिममा छ । अर्को खेलमा चेल्सीलाई जिताउन हाकिम जियाचले ८९औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीले ५० अंक बनाएको छ । पराजित क्रिस्टल प्यालेस २६ अंक सहित १३औँ स्थानमा छ । एजेन्सी