दुई पुलिसको खेल बराबरीमा सकियो
काठमाडौँ, फाल्गुन १० गते । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा पुलिस र एपीएफले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा पुलिसका लागि सुमन लामाले गोल गर्नुभयो । एपीएफका प्रदीप लामाले बराबरी गोल फर्काउनुभयो । पुलिसले खेल सुरु भएको पहिलो मिनेटमै खाता खोलेको थियो । सुमनले एपीएफका गोलरक्षक युया करियामाले पोस्ट छाड्दै अगाडी बढेको अवस्थामा गोल गर्नुभएको थियो ।
त्यसपछि ४१औँ मिनेटमा एपीएफका प्रदीपले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि दुवै पुलिसले एक एक अङ्क बाँडेका थिए । बराबरीसँगै १२ खेलबाट १५ अङ्क बनाएको एपीएफ आठौँ स्थानमा छ । समान खेलबाट १२ अङ्क बनाएको पुलिस ११औँ स्थानमा छ ।