फुटबल | खेलकुद |

‘ए’ डिभिजन लिग : आर्मी दोस्रो स्थानमा

काठमाडौँ, फाल्गुन १० गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ३–१ गोलले हरायो ।

आर्मीलाई जिताउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले एक एक गोल गर्नुभयो । संकटाका उत्तम राईले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै दोस्रो स्थानमा उक्लिएको आर्मीले १२ खेलबाट २२ अंक बनाएको छ । पराजित संकटा १५ अंक सहित सातौँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको मच्छिन्द्रको ३२ अंक छ । मच्छिन्द्रले दुई खेल अगावै लिग उपाधि जितिसकेको छ । १२ खेलको समाप्तिसँगै रेलिगेसनको टुंगो पनि लागिसकेको छ । ललितपुरको च्यासल युथ र ब्रिगेड ब्वाईज क्लब रेलिगेसनमा (‘बी’ डिभिजनमा घटुवा) परेको छ ।