फुटबल | खेलकुद |

एन्फाको जिल्ला निर्वाचन स्थगित

काठमाडौँ, फाल्गुन ११ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को जिल्ला निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको छ । एन्फा केन्द्रिय कार्यसमितिको मंगलबार अबेर सम्पन्न
बैठकले जिल्ला निर्वाचन नियमावली तयार नभएकोले जिल्ला निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

एन्फाले यसअघि फाल्गुन १५ देखि ३० गतेसम्म जिल्ला संघको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका तयार पारेको थियो । एन्फा बैठकले विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट स्विकृति प्रदान भएसँगै निर्वाचनको नयाँ मिति तय गर्ने निर्णय गरेको छ । एन्फाले फिफा र एएफसीबाट निर्वाचन नियमावली पारित नभएका कारण तत्काल निर्वाचन गर्न नमिलेको पनि बैठक पछि जारी प्रेश विज्ञप्तीमा उल्लेख गरेको छ ।

एन्फाको केन्द्रीय निर्वाचन भने आगामी जेठ १५ गतेका लागि तय भईसकेको छ । एन्फको यसअघिको कार्यसमिति बैठकले एन्फाको विशेष साधारण सभा, जिल्ला, संघ र क्लबहरुको निर्वाचनको कार्यतालिका तय गरेको थियो । निर्वाचन निर्देशिका पारित नभएको कारण देखाउँदै एन्फाले विशेष साधारण सभादेखि जिल्ला निर्वाचनका कार्यक्रम स्थगित गरेको जनाएको छ ।