फुटबल | खेलकुद |

नवप्रवेशी सातदोवाटोको सुखद अन्य

काठमाडौँ, फाल्गुन १२ गते । नवप्रवेशी सातदोवाटो युथ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बिहीबार भएको खेलमा सातदोवाटोले च्यासल युथ क्लबलाई १–० गोलले हरायो । लिगको आफ्नो अन्तिम खेलमा सातदोवाटोलाई जिताउन अजयी मार्टिन्सले निर्णायक गोल गर्नुभयो ।

मार्टिन्सले सातौँ मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । पहिलो पटक ‘ए’ डिभिजनको स्वाद चाखेको सातदोवाटोले जितसँगै लिगको अन्त्य गरेको छ । लिगको १३औँ खेलको समाप्तिसँगै २१ अंक बनाएको सातदोवाटो तेस्रो स्थानमा उक्लिएको छ । पराजित च्यासल दुई खेल अगावै रेलिगेसनमा परिसकेको छ । ६ अंक बनाएको च्यासलले तालिकाको अन्त्यमा रहेर लिग सकेको छ ।

यसैगरी दशरथ रंगशालमा बिहबिार नै भएको अर्को खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता लिएको फ्रेन्ड्स अन्तिममा सम्हालिन नसक्दा बराबरीमा रोकियो । फ्रेन्ड्सले ७३औँ मिनेटमा आत्मघाती गोल सहयोगमा अग्रता लिएको थियो ।

हिमालयन शेर्पाका दिवस उराउको बल बचाउने क्रममा आत्मघाती गोल भएको थियो । तर ८९औँ मिनेटमा फ्रेन्ड्सका रक्षकको कमजोरीमा विशन गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई हारबाट जोगाउनुभयो । बराबरीसँगै १३ खेलबाट १४ अंक बनाएको शेर्पा नवौँ स्थानमा छ । ११ अंक बनाएको फ्रेन्ड्स १२औँ स्थानमा छ ।