एमबाप्पे चम्किएपछि पीएसजीको पूनरागमन जित
काठमाडौँ, फाल्गुन १५ गते । युवा स्टार केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनेलाई ३–१ गोलले हरायो ।
पीएसजीको जितमा एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गर्नुभयो । सेन्ट इटिएनका डेनिस वोउएन्गाको सुरुवाती गोल सान्त्वना बन्यो । १६औँ मिनेटमा डेनिसले गोल गर्दै सेन्ट इटिनेलाई अग्रता दिलाउनुभयो । त्यसपछि ४२औँ मिनेटमा एमबाप्पेले लियोनल मेस्सीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
४७औँ मिनेटमा मेस्सीकै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई अगाडी बढाउनुभयो । ५२औँ मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाउनुभयो । जितसँगै पीएसजीले शीर्षस्थानमा १६ अंकको अग्रता बनाएको छ ।
पीएसजीको २६ खेलबाट ६२ अंक छ । दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ । पराजित सेन्ट इटिने २२ अंक सहित १६औँ स्थानमा छ । अर्को खेलमा रेनेसले मोन्टेपिलरलाई ४–२ गोलले पराजित गरेको छ । निस र स्टार्सबर्गले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी