क्लबको स्वीकृतिविना खेलाडीलाई अन्य प्रतियोगिता नखेल्न आग्रह
काठमाडौँ, फाल्गुन १६ गते । ‘ए’ डिभिजन लिगका आठ क्लबहरुले क्लबको स्वीकृतिविना आफ्नो क्लबमा दर्ता भएका खेलाडीलाई अन्य क्लबमा अनुबन्ध नहुन र प्रतियोगिता नखेल्न आग्रह गरेको छ । क्लबहरुले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना खेलाडीलाई क्लबको स्वीकृतिविना अन्य क्लबमा आबद्ध नहुन र खेलाडीलाई अनुबन्ध गर्दा क्लबको स्वीकृति लिन आग्रह गरेको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएसँगै नेपाल सुपर लिग (एनएसएल) को आयोजना हुन लागेको छ । एनएसएलमा सहभागी फ्रेन्चाइज टोलीबीच खेलाडी अनुबन्धको होडबाजी चल्न थालेपछि क्लबहरुले आफ्ना खेलाडी अनुबन्ध गर्न नदिने रणनीति अपनाएका छन् ।
विज्ञप्ति जारी गर्ने क्लबहरुमा लिग च्याम्पियन मछिन्द्रसहित एनआरटी, मनाङ मर्स्याङ्दी, सातदोबाटो युथ, थ्रीस्टार, सङ्कटा, जावलाखेल युथ र फ्रेन्ड्स क्लब छन् । क्लबहरुले आफ्ना खेलाडी मोफसलको प्रतियोगिताका लागि चाहिने विज्ञप्तिमा उल्लेख गरेका छन् । एनएसएल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मान्यता दिएको प्रतियोगिता हो । एन्फाका महासचिव इन्द्रमान तुलाधर सङ्कटा क्लबका अध्यक्ष हुनुहुन्छ ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पासहित त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ र नेपाल पुलिस क्लबले भने संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेको छैन । आइतबार नै एनएसएलका लागि झापा फुटबल क्लबले मनाङका कप्तान अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।