रुसमाथि फिफा र युईएफएको प्रतिबन्ध
काठमाडौँ, फाल्गुन १७ गते । विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल महासंघ (युईएफए) ले रुसलाई फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा आक्रमण गरेका कारण अर्को सुचना नभएसम्मका लागि प्रतिबन्ध लगाएको फिफा र युईएफएले उल्लेख गरेको छ ।
युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युईएफएले रुसलाई क्लब र सबै खाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिबन्ध गरेको छ । फिफाले आइतबार मात्रै मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानविना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो । तर, त्यसको चर्काे आलोचना भएपछि फिफाले प्रतिबन्ध नै गर्ने निर्णय गरेको हो । यस निर्णयपछि रुस अर्को महिना हुने फिफा विश्वकप छनोटको प्लेअफ खेल्नबाट बन्चित भएको छ ।
रुसले मार्च २९ तारिख पोल्यान्डसँग प्लेअफ खेल्ने तालिका थियो । फिफाको यस निर्णयपछि पोल्यान्ड सोझै अगाडि बढ्ने अवसर मिल्नेछ । रुसले युक्रेनमा हमला गरेपछि युईएफएले यसअघिनै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा सारिसकेको छ । एजेन्सी