सरस्वती र श्रीभगवतीको सुखद सुरुवात
काठमाडौँ, फाल्गुन १८ गते । सरस्वती क्लब र श्रीभगवती क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद सुरुवात गरेका छन् । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बुधबारदेखि सुरु भएको लिगमा सरस्वतीले बाँसबारी क्लबलाई ३–१ गोलले हरायो । अर्को खेलमा श्रीभगवतीले झम्सिखेल युथ क्लबलाई ३–१ गोलले नै स्तब्ध बनायो ।
गत सिजनमात्र ‘ए’ डिभिजन लिगबाट ‘बी’ मा घटुवा भएको सरस्वतीलाई जिताउन विक्रम विसंखेले २१औं, सृजल लामाले ८७औँ र भुपेन्द्र शाहीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । बाँसबारीका बिक्की राईले छैटौँ मिनेटमा सुरुवाती गोल गरेपनि टोलीको हार टरेन । पहिलो जितसँगै सरस्वतीले तीन अंक जोडेको छ ।
यसैगरी अर्को खेलमा श्रीभगवतीलाई जिताउन अनिल गुरुङले २४औँ, रमेश उरावले ५०औँ र मिलन खड्काले ६३औँ मिनेटमा गोल गर्नुभयो । झम्सिखेलका मनकुमार राईले ३०औँ मिनेटमा गोल गर्नुभएको थियो । अर्को खेलमा ब्वाइज युनियन क्लबले विरगंज युनाईटेडलाई १–० गोलले पराजित गरेको छ । ब्वाइजलाई जिताउन मिलन लिम्बुले ६४औँ मिनेटमा निर्णायक गोल गर्नुभयो ।
चैत २७ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सिंगल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् । लिगको च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।