फुटबल | खेलकुद |

झापा गोल्डकपबाट थ्री स्टार बाहिरियो


बिर्तामोड, फागुन २४ गते। झापाको बिर्तामोडमा जारी पाचौं झापा गोल्डकपमा संकटा क्लब काठमाडौंले थ्री स्टार क्लबलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको छ। मंगलवार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले टिमका लागि गोल गर्नुभयो । खेलको २५ औँ मिनेटमा विदेशी खेलाडी यानिकले गोल गर्दै संकटाको जितको आधार तयार गनुभयो। दोस्रो हाफमा खेलको ६३ आँै मिनेटमा संकटाका लागि फोडे फोफोनाले थप गोल गर्दै जित निश्चित गर्नुभयो।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की बन्नुभयो। उहाँले नगद ९ हजार ९९९ रुपैयाँ पाउनुभयो। बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको एम एफसीबीच हुने आयोजक समितिका महासचिव गजेन्द्र पौडेलले बताउनुभयो।

आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो भने कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथि महिला मात्र रहनुभएको थियो।