फुटबल | खेलकुद |

मनाङ र फ्रेन्ड्सको उपाधि जित्ने दावी

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २७ गते । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पूर्व च्याम्पियन मनाङ मस्र्याङदी क्लव र फ्रेन्ड्स क्लवविच प्रतिस्पर्धा हुँदैछ । दुबै टिमले शुक्रबार उपाधि जित्ने दाबी गरेका छन ।

मनाङले सुदुरपश्चिम खप्तड गोल्डकपमा पाचौं संस्करणसम्म सहभागी रहेको छ । पहिलो संस्करणको च्याम्पियन मनाङ दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ । फेन्ड्स भने पहिलो पटक गोल्डकपमा सहभागी भएको हो । पहिलो सहभागीतामा नै उपाधि जित्ने धुनमा फेन्ड्स रहेको छ ।

मनाङका कप्तान अञ्जन विष्टले फाईनलमा आफुलाई कुनै दबाव नभएको र नकआउट प्रतियोगितामा जस्तो विपक्षी भएपनि जितका लागि खेल्ने बताउनुभयो । उहाँले प्रतियोगिता अगाडी धनगढी रङगशाला पुग्दा मैदानको अवस्था देखेर आफुलाई केहि चिन्ता लागेपनि जुन तरिकाले ग्राउण्ड स्टाफले मैदानलाई ब्यवस्थापन गरे, उनीहरुलाई धन्यवाद दिनुभयो । अञ्जनले हरेक खेलमा जितका लागि मैदानमा उत्रिएको र फाइनलमा पनि आफुहरु दबाब बिना खेल्ने बताउनुभयो । ‘नकआउट प्रतियोगिताको सबै खेल फाईनल सरह नै हो । हामीलाई दर्शकको पनि साथ छ । हामी फाईनल जित्छौ ।’ कप्तान अन्जनले भन्नुभयो– ‘लिग र नकआउट फरक हो । एक पटक हारेमा टुर्नामेन्ट नै सकिन्छ । त्यही भएर फाईनल जित्ने गरी उत्कृष्ट फुटबल खेल्छौ ।’

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफुहरुलाई लिगमा भोगेको नजितामा केही हदसम्म मल्हम लगाउने मौका हुने भनाई राख्नुभयो । उहाँका अनुसार खेलाडीलाई केहिदिन आराम मिलेकाले पनि फाइनलमा राम्रो प्रदर्शन हुनेछ । ‘अब फाईनल पुगेका छौं । माहोल हाम्रो पक्षमा रहेको छ । हामी जित्छौँ । दर्शकहरुको पनि साथ पाएका छौं । टीममा केही फरक र उतारचढाव छ । खेलाडीबीच राम्रो तालमेल छ । खेलाडीहरुले आराम पनि पाएका छन् । यसले हामीलाई फाईदा पनि हुन्छ’ ।’ प्रशिक्षक तामाङले भन्नुभयो ।

फ्रेन्ड्सका प्रशिक्षक मिग्रेन्द्र मिश्रले कम्तीमा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढी आराम पाउने भएपनि आफुहरु फाइनलका लागि तयार रहेको बताउनुभयो । उहाँले मनाङ बलियो टिम भएपछि अहिले आफ्नाे टिम पनि कम नभएको जनाउनुभयो । ‘फाईनलमा जसले गोल गर्छ त्यही टीमले जित्छ । फुटबलको नतिजा के हुन्छ भन्ने कुरा खेलेपछि थाहा हुन्छ । हामी पनि जितका लागि खेल्छौ । दर्शकहरुले हौसला दिएमा थप राम्रो खेल्छौ । खेलाडीहरु पनि थपेका छौं ।’– प्रशिक्षक मिश्र भन्नुहुन्छ ।

हालै सम्पन्न सहिद समारक ए डिभिजन लिगमा फ्रेन्ड्सलाई मनाङले पराजित गरेको थियो ।

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।