बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितको उपचार शुरु
दीपक ज्ञवाली
बुटवल, भदौ ८ गते । कोरोना सङ्क्रमितको उपचारमा विभिन्न अभ्यासहरू भइरहेका बेला बुटवलमा पनि सङ्क्रमितलाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ ।
बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक जना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले यहाँ पहिलो अभ्यास स्वरुप यस्तो विधिबाट सोमबार उपचार शुरु गरिएको बताउनुभयो । उहाँका भनाइमा अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका एक सङ्क्रमितमा यस्तो विधि प्रयोग गरिएको हो ।
यस्तो उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालका कार्यरत डा. साजन श्रेष्ठले आफ्नो रगतको प्लाज्मा दान गर्नुभएको हो । डा. साजन केही समयअघि मात्र कोरोना सङ्क्रमित भएर हाल निको हुनुभएको छ ।
प्लाज्मा थेरापी उपचारमा मेसु डा. खनाल, डा. सुदर्शन थापालगायत चिकित्सकहरू संलग्न हुनुहुन्छ । अस्पताल स्राेतका अनुसार थेरापीअघि नै बिरामीको अवस्था भने गम्भीर थियो ।