स्वास्थ्य | प्रदेश |

एकतीस जनाकाे रक्त समूह वर्गीकरण गरियो, १११ को गरिँदै

भक्तिविलास पोखरेल
गाईघाट, भदौ ९ गते । कोरोना सङक्रमितको उपचार गर्न प्रभावकारी मानिएको प्लाज्मा थेरापीको लागि नेपालकाे पहिलाे इपिसेन्टर बनेकाे उदयपुरमा हाल कोरोना सङ्क्रमणबाट निको भएका व्यक्तिहरूको रक्त समूह छुट्याउन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालयको प्राविधिक टोलीले कोरोना उपचार केन्द्र बेल्टारमा उपचारारत रहेका २२ जना र पहिलो कोरोना भाइरस इपिसेन्टर बनेको त्रियुगा नगरपालिका वडा नं ३ भुल्के क्षेत्रका सङ्क्रमणबाट निको भएका नौ जनाको गरी उदयपुरका ३१ जना कोराना प्रभावित व्यक्तिको रक्त समूह वर्गीकरण गरी छुट्याइएको हो ।

कोरोना अस्पतालमा उपचार गरिरहेका २३ र निको भएका ८८ गरी जम्मा १११ जनाको रक्त समूह अद्यावधिक गरिने भए पनि सोमबारसम्ममा ३१ जनाको मात्र रगत सङ्कलन गर्न सकिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले स्वेच्छिक रुपमा प्लाज्मा दान गर्न सहमत भएका व्यक्तिको विवरण अद्यावधिक गर्न स्वास्थ्य कार्यालयलाई जिम्मेवारी दिएअनुसार कोरोना प्रभावितहरूको विवरण तयार पार्न थालिएको हो ।

हाल सङ्क्रमित अवस्थामा उपचारारत रहेका र विगतमा सङ्क्रमण भई निको भएका व्यक्तिको विवरण अद्यावधिक भएपछि तत्काल प्लाज्मा आवश्यक भएमा जटिल प्रकारका कोरोना सङक्रमितको उपचार गर्न सहज हुने विश्वास लिइएको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले सङ्क्रमित बिरामी र निको भएकाहरूको विवरण अद्यावधिक गर्ने र आवश्यक परेको अवस्थामा सङ्क्रमित बिरामीको उपचारका लागि स्वैच्छिकरुपमा प्लाज्मा दान गर्न सहमत भएका व्यक्तिको विवरण अद्यावधिक गरी सुरक्षित राख्ने निर्णय गरिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख प्राध्यापक डा. सञ्जिवकुमार शर्माका अनुसार प्लाज्मा थेरीपी गर्न कोरोना सङ्क्रमित भएर निको भएका व्यक्तिहरूको मात्र रगत आवश्यक हुन्छ ।

कोरोना निको भएका व्यक्तिको शरीरमा भाइरससँग लड्नसक्ने क्षमताको एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर सङ्क्रमित बिरामीलाई उहाँको रक्त समूह अनुसार प्लाज्मा चढाउन सकिने प्राध्यापक डा. शर्मा बताउनुहुन्छ ।