स्वास्थ्य |

काठमाडौं उपत्यकाका ३९६ मा सङ्क्रमण पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २३ गते । काठमाडौं उपत्यकामा ३९६ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३९६ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा तीन सय, ललितपुरमा ३८ तथा भक्तपुरमा ५८ जना गरी ३९६ सङ्क्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा एक सय एक महिला र एक सय ९९ पुरुष, ललितपुरमा २१ महिला र १७ पुरुष तथा भक्तपुरमा २६ महिला र ३२ पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा हालसम्मकै सबैभन्दा बढी दुई हजार २८७ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उक्त संख्यासँगै निको भएका सङ्क्रमितको संख्या ३२ हजार ९६४ पुगेको छ । निको हुने प्रतिशत ६८.५ पुगेको छ । पछिल्लो चौबीस घण्टामा दश हजार ६११ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।