बाँकेमा शनिबार १५ जना कोरोना संक्रमणमुक्त भै घर फर्किए
सिराज खान
नेपालगञ्ज, भदौ २७ गते । बाँकेमा कोरोनामुक्त भै दिनदिनै घर फर्किने क्रम निरन्तर जारी छ । सो क्रममा शनिबार पनि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरहरुमा रहेका १५ जना संक्रमणमुक्त भै घर फर्किएका छन ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भदौ १३ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आईसोलेसन सेन्टरमा बस्दै आएका ६ महिला र ९ पुरुषहरु निको भएपछि उहाँहरुलाई शनिबार डिस्चार्ज गरीएको जानकारी दिनुभयो ।
उहाँका अनुसार १४ दिनसम्म आईसोलेसन सेन्टरमा राख्दा समेत उहाँहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको उहाँहरु सबैको स्वास्थ्य अवस्था समेत सामान्य रहेकाले स्वास्थ्य सुरक्षा अपनाउँदै डिस्चार्ज गरिएको हो ।
शनिबार संक्रमणमुक्त भै निको भएर घर फर्किएकाहरु १५ जना सहित बाँकेबाट हालसम्म ९८५ जना कोरोनामुक्त हुँदै घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार बाँकेमा हालसम्म १ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा अझै पनि विभिन्न आईसोलेसन सेन्टरमा ३७६ जना संक्रमितको उपचार भैरहेको छ ।
बाँकेमा कोरोनाबाट आठ जनाको मृत्यु भइसकेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
पिसिआर रिपोर्ट अब एसएमएसमार्फत् मोबाइलमै आउने
यसैबीच भेरी अस्पतालमा गरिएको पिसिआर जाँचको रिपोर्ट अब एसएमएस मार्फत् मोबाइल मै आउने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले भेरी अस्पतालको प्रयोगशालामा गरिने स्वाबको परीक्षणमा ‘नेगेटिभ’ रिपोर्ट आएका व्यक्तिहरुको नतिजा सम्बन्धित व्यक्तिको मोबाईल मै एसएमएसमार्फत् जानकारी गराइने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
उहाँले अस्पतालले एसएमएस मार्फत् रिपोर्टको लिंक ‘नेगेटिभ’ रिपोर्ट आएका सम्बन्धित व्यक्तिहरुको मोबाइलमा पठाउने र सम्बन्धित व्यक्तिहरुले उक्त लिंक खोलेर हेर्न र प्रीन्टसमेत गर्न सक्ने बताउनुभयो ।
सम्पर्क व्यक्ति श्रेष्ठले यो सेवा भदौ २५ गतेदेखी नै संचालन गरिसकेको जानकारी दिंदै स्वाब संकलन गर्ने समयमा आफ्नो सहि मोबाइल नम्बर टिपाउन पनि आग्रह गर्नुभएको छ ।
नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरुले अहिलेसम्म स्वास्थ्य कार्यालयमा फोन सम्पर्क गरी जानकारी लिने गरेका थिए भने पोजेटिभ रिपोर्ट आएकाहरुको अस्पतालले आफ्नो फेसबुक पेज मार्फत् जानकारी गराउँदै आएको थियो ।