पहिलो गम्भीर सङ्क्रमित घर फर्किए, कोरोनालाई ख्यालख्याल नसोचौं
सिराज खान
नेपालगञ्ज, भदौ २८ गते । बाँकेमा पहिलो पटक प्लाज्माथेरापी शुरु गरेर भेरी अस्पतालमा प्लाज्मा प्रदान गरिएका सल्यानका गम्भीर अवस्थाका संक्रमित निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमित भै श्वासप्रश्वास, ज्वरो, खोकी र निमोनिया देखिएपछि गम्भीर अवस्थामा पुग्नु भएका सल्यान शारदा नगरपालिका–६ का २९ वर्षीय प्रविण केसी (अनुमतिमा नाम र तस्बिर सार्वजनिक) भेरी अस्पतालमा प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर आइतवार घर फर्किनु भएको हो ।
श्वासप्रश्वास, ज्वरो र खोकी सम्बन्धी समस्या देखिएपछि केसीलाई भदौ १२ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । त्यस्को भोलिपल्ट पीसीआर रिपोर्ट पोजेटिभ आएको तथा निमोनिया भएकोले स्वास्थ्यस्थिति गम्भीर हुँदै गएपछि उहाँलाई आइसीयुमा राखेर अक्सिजन दिइएको थियो ।
स्वास्थ्यस्थिति खस्किँदै गएपछि अस्पतालमा भर्ना भएको तीन दिनमा केसीको प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेपालगञ्ज वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले उहाँलाई भदौ १५ गते प्लाज्मा दिनु भएको थियो ।
प्लाज्मा दिएर उपचार गर्दा स्वास्थ्य अवस्थामा सुधार आएसँगै केसीको रिपोर्ट पनि नेगेटिभ देखिएको हुँदा आइतवार उहाँलाई डिस्चार्ज गरिएको भेरी अस्पतालका प्लाज्मा सम्पर्क व्यक्ति डा. खगेन्द्रजंग शाहले बताउनुभयो ।
उहाँले केसीको स्वास्थ्य अतिनै गम्भीर अवस्थामा पुगेको जनाउँदै पहिलो पटक प्लाज्मा थेरापी गर्दा सफलता हात लागेकोमा खुशी व्यक्त गर्नुभयो । केसी निको भएपछि प्लाज्मा थेरापीलाई अगाडी बढाउन उत्साहित बनाएको डा. शाहको भनाई छ ।
गम्भीर अवस्थामा पुगेर निको हुनुभएका केसीले आफूले दोस्रो जीवन पाएको जनाउँदै प्लाज्मा दिने, उपचार गर्ने लगायत सबैप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले भन्नुभयो “कोरोनालाई हल्का रुपमा नलिउ, म मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । त्यस्को पीडा र छटपटि मलाई मात्रै थाहा छ, यो गम्भीर रोग हो ।”
केसीले घर फर्किएको १५ दिन पुग्ने वित्तिकै आफूले पनि प्लाज्मा दिने घोषणा गर्दै निको भैसकेका सबैले प्लाज्मा दिनुपर्नेमा जोड दिनुभयो ।
प्लाज्मा दिने वडा अध्यक्ष रिजालले आफ्नै प्लाज्माबाट प्रविणको ज्यान जोगिएकोमा आफू आज सबै भन्दा खुशी भएको र आफूलाई भाग्यमानी ठानेको बताउनुभयो ।
बाँकेको भेरी अस्पताल र मेडिकल कलेजको कोहलपुर अस्पतालमा अझैपनि केही गम्भीर संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार भैरहेको ती अस्पतालहरुले जनाएका छन् ।