स्वास्थ्य | प्रदेश |

भेरीे विशेष कोरोना अस्पतालको सेवा उत्कृष्ट, सङ्क्रमित खुशी

सिराज खान
नेपालगञ्ज, भदौ ३१ गते । भेरी अस्पताल नेपालगञ्जमा निर्माण गरेर सञ्चालनमा ल्याईएको ७२ बेडको भेरी विशेष कोरोना अस्पतालका सेवा सुविधाहरु निकै उत्कृष्ट रहेको उपचाररत संक्रमितहरुले जनाएका छन् ।
 विशेष कोरोना अस्पतालमा भर्ना हुनु भएका अधिकांशले सो अस्पतालमा हाल प्रदान गरिएका सेवा सुविधाहरु अतिनै उच्चस्तरको रहेको जनाउनुभएको छ ।
भेरी विशेष कोरोना अस्पतालमा रहनु भएका नेपालगञ्ज १३ का कानुन व्यवसायी पुर्ण ढकालले पूर्ण रुपले वातानु कुलित रहेको सो अस्पतालमा संक्रमितको हेरचाहदेखि खाना नास्ता र सरसफाई सबै अतिनै उत्तम रहेको बताउनुभयो ।
उहाँले सो अस्पतालमा अधिकांश लक्षण भएका संक्रमितहरु रहेकोले उनिहरुको हेरचाह तथा उपचारमा कुनै प्रकारको कमी नगरी नम्र व्यवहारका साथ राम्ररी उपचार गरिरहेको बताउनुभयो ।
यसैगरी संक्रमित भएर त्यहाँ भर्ना हुनुभएका नेपालगञ्ज कारकाँदोका विरेन्द्र बस्नेतले पनि सो विशेष कोरोना वार्डमा स्तरीय तारे होटलको जस्तो सेवा सुविधा प्राप्त भैरहेको बताउनुभयो ।
उहाँले सो अस्पतालमा स्वास्थ्यकर्मीहरुको व्यवहार अतिनै राम्रो रहेको जनाउँदै खाना र नास्ता स्तरीय दिनुका साथै सरसफाईमा पनि विशेष ध्यान राखिने गरिएको पाईएको बताउनुभयो ।
सोही प्रकारले नेपालगञ्ज ९ का मीना पाण्डेले पनि अहिले त्यहाँ प्रदान गरिएका सबै प्रकारका सेवा सुविधाहरु निकै उच्चस्तरीय खालका रहेको जनाउँदै सधैं यस्तै राख्नुपर्नेमा जोड दिनुभएको छ ।
संक्रमित भएर त्यहाँ रहनु भएका अधिकांशले सधैभर सो वार्डमा यस्तै सेवा सुविधा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ ।
सो विशेष कोरोना अस्पतालका प्रमुख डा. श्यामसुन्दर यादवले संक्रमितहरुलाई विशेष प्रकारको सुविधा दिएर निको पार्ने उदेश्यसहित यो अस्पताल सञ्चालनमा ल्याईएको बताउनुभयो ।
उहाँले ८ बेड आइसियुसहित ७२ बेडको सो कोरोना विशेष अस्पतालको सेवा सुविधा हेरेरनै अहिले ६५ जना संक्रमित त्यहाँ भर्ना रहेको बताउनुभयो ।
अस्पताल प्रमुख डा. यादवले केही लक्षण नभएकाहरु प्नि त्यहाँ भर्ना रहेकोले उनिहरुलाई त्यहाँबाट अन्यत्र आइसोलेसनमा सारेर लक्षण भएकालाई ल्याउने तयारी भैरहेको बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगको पहल र सक्रियतामा निर्माण गरिएको सो अस्पतालका हरेक बेडमा अक्सिजन दिन सकिने व्यवस्था मिलाइएको छ भने त्यहाँ ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।