स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि ओपिडी सेवा बन्द
मुरारी अधिकारी
धादिङ, असोज ७ गते । जिल्ला अस्पताल धादिङमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले अनिश्चितसमयसम्म ओपिडी सेवा बन्द गरेको छ ।
अस्पतालले ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुती सेवाबाहेकका सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी बिक्रम वि.क.ले जानकारी दिनुभएको छ । संक्रमित स्वास्थ्यकर्मीसँग सम्पर्कमा नरहेका अन्य स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै पिपिई सेट लगाएर ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुती सेवा भने निरन्तर संचालन गरिने विकले बताउनुभयो ।
असोज ५ गते अस्पतालमा कार्यरत केही स्वाथ्यकर्मीहरुको स्वाब संकलन गरी पठाइएकोमा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका सेवाहरु बन्द गरिएको सूचना अधिकारी विकले जानकारी दिनुभयो ।