स्वास्थ्य | राष्ट्रिय |

देशभरका अस्पतालका निर्देशकसँग छलफल, कुनै पनि समस्या पर्दा आफू साथमा रहेको मन्त्री ढकालको स्पष्टोक्ति

गोरखापत्र अनलाइन
काठमाडौँ, आसोज २० गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूलाई कुनै पनि समस्या पर्दा मन्त्रालय र मन्त्री उहाँहरुको साथमा रहेको बताउनुभएको छ ।
भर्चुवल माध्यमबाट सोमबार गर्नुभएको छलफलमा मन्त्री ढकालले कुनै पनि समास्या समाधानका लागि प्रभावकारी रूपमा आफ्ना विषय उठान गर्न अनुरोध गर्नुभएको थियो । कोभिड १९ विरूद्धमा फ्रन्टलाइनमा बसेर लडिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल बढाउन सो छलफल आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।
छलफलमा मन्त्री ढकालले कोभिड १९ विरूद्धको लडाइँमा स्वास्थ् कर्मीले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा जानकारी लिनुभएको थियो । उहाँले चिकित्सक आम नागरिक सबैको सहयोगले मात्र कोरोना नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाइ प्रेरित गर्नुपर्ने बताउनुभएको थियो ।
नजिकिदै गरेको चाडबाडको मुखमा हुने भीडभाडले कोरोनाको जोखिम अझै बढ्ने सम्भावना रहेको आंैल्याउँदै मन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकहरूलाई निर्देशन दिनुभयो । उहाँले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिनुभयो । छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता थियो । उहाँहरूले कोभिड १९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने कामलगायतका विषय मन्त्रीसँग छलफल गर्नुभएको थियो । मन्त्री ढकालले स्वास्थ्यका विज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवलासँग नियमित रूपमा छलफल गर्दै आएका छन ।