एकान्तवासमा मानसिक तनाव कम गर्न योग र मनोपरामर्श
नवीन शिशिर विक
बागलुङ, असोज २२ गते । बागलुङको आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई मानसिक तनाव कम गर्न योग अभ्यास तथा मनोमरामर्श सेवा प्रदान गरिएको छ ।
बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाअन्तर्गतका क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिलाई मानसिक तनाव कम गर्ने तथा आत्मनियन्त्रणका विधि र अभ्यास सिकाइएको हो ।
नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारको द्विपक्षीय सम्झौता अनुसार सामी हेल्भेटासको प्राविधिक सहयोग, स्थानीय पालिकाको नेतृत्व र बिवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) को आयोजनामा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रको सहयोगले योग तथा मनोमरामर्श सेवा प्रदान बागलुङ नगरपालिकामा नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
कोरोना त्रासले सङ्क्रमित तथा क्वारेन्टाइनमा रहेका व्यक्तिमा चिन्ता, उदास, डर, झर्काे लाग्ने वा निन्द्रामा समस्या, खाना खान मन नलाग्ने जस्ता समस्या हुनसक्ने सक्ने सम्भावनालाई न्यूनीकरण गर्न मनोपरामर्शलाई प्राथमिकता दिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाको भनाइ छ ।
क्वारेन्टाइनमा बस्दा मनमा अनावश्यक सोच उत्पन्न हुने, धेरै कुरा खेलिरहने गर्दा मानसिक रुपमा तनाव पैदा हुनसक्ने र यसको दीर्घकालीन रुपमा समेत असर पुर्याउने अवस्थालाई ध्यानमा राखेर मनोपरामर्शको काम अगाडि बढाएको सुरक्षित आप्रवासन परियोजना बागलुङका परियोजना संयोजक मिनप्रसाद उपाध्यायले बताउनुभयो ।
बन्दाबन्दीको कारण रोजगारी गुमाएर घर फर्कनुपर्दा परिवारमा आर्थिक बोझ, पारिवारीक दूरी कायम, समाजले गर्ने, सङ्क्रमित हुने डर, सङ्क्रमणपछि विश्वासिलो उपचार विधि नहुने जस्ता कारणले व्यक्तिमा मानसिक तनाव उत्पन्न हुने मनोपरामर्शकर्ता सुदीप घिमिरेले बताउनुभयो ।
तनाव व्यवस्थापन गर्न सामाजिक सञ्जालमा आएका अपूर्ण र अविश्वसनीय समाचारह नहेर्ने, नसुन्नु, नियमित शारीरिक व्यायाम, धुम्रपान तथा मद्यपानबाट टाढा रहने, सन्तुलित भोजन गर्न, पर्याप्त सुत्ने, परिवारसँग नियमित कुराकानी गर्ने, रमाइला भिडियो हेर्ने, सामाजिक दूरी कायम गरेर क्वारेन्टाइनभित्र रचनात्मक काम गर्न सके तनाव कम हुने उहाँले बताउनुभयो ।
बागलुङ नगरपालिका अन्तर्गत रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइन, रातमाटाको आइसोलेसन, काठेखोलाको भीमसेन प्राविमा रहेको आइसोलेसन, गलकोटको नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसन तथा क्वारेन्टाइनमा पुगेर साधारण योग अभ्यास तथा मनोमरामर्श सेवा प्रदान गरेको बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले जानकारी दिनुभयो ।