काठमाडौं उपत्यकामा दुई हजार ५४० मा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, असोज २२ गते । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ५४० जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार ६७५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ७१ हजार ३४३ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित निको हुने दर ७२.३ प्रतिशत हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८ हजार ४७३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपालमा कुल सङ्क्रमित ९८ हजार ६१७ पुगेको छ । सक्रिय सङ्क्रमित २६ हजार ६८४ पुगेको छ ।