काठमाडौं उपत्यकामा दुई हजार ४०२ मा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, असोज ३० गते । काठमाडौं उपत्यकामा दुई हजार ४०२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार ४०२ जना सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा एक हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट तीन हजार ५२२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । ८८ हजार ४० जना कोरोनामुक्त भएका छन् । सक्रिय सङ्क्रमित ३७ हजार ३८२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १६ हजार ५३१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।