काठमाडौं उपत्यकामा दुई हजार ३८८ मा सङ्क्रमण पुष्टि
गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ३ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका दुई हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार आठ जना छन् ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार आठ, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि तीन हजार ७९० सङ्क्रमित थपिएका छन् । १५ हजार ७१४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । जसमध्ये एक लाख ३६ हजार २३६ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार ३३५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९४ हजार ५०१ जना सङ्क्रमित निको भएका छन् ।