पोखरामा २४ घण्टामा कोरोनाबाट छ जनाको मृत्यु
तारा चापागाई
पोखरा, कात्तिक १९ गते । पोखरामा कोरोना भाइरस संक्रमितको वृद्धि भएसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । आज बुधबार मात्र पोखरामा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाले ज्यान गुमाएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ का ४२ वर्षीय पुरुषको मंगलबार राति ११ बजेको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो । उहाँलाई कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा २६ का ७३ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको छ । उहाँको आज बिहान ७ बजेर २५ मिनेट जाँदा प्रतिष्ठानमा नै उपचारका क्रममा ज्यान गएको हो । कार्तिक १५ गते कोरोना पुष्टि भएको थियो ।
पोखरा २५ का ५२ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उहाँको पनि बुधवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७ बजेर ३५ मिनेट जाँदा ज्यान गएको हो ।
त्यस्तै पोखरा १६ का ५९ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । मंगलबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको उहाँलाई कार्तिक १५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
वडा १६ कै २८ वर्षीय पुरुषले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १० बजेर ४५ मिनेट जाँदा ज्यान गएको हो । उहालाई कार्तिक १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरि तनहुँका १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ४ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा आज दिउँसो पौने १ बजे ज्यान गएको हो । उनलाई कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल सख्ंया ९३ पुगेको छ ।