चिसोसँगै रुघाखोकीका बिरामी बढ्दै
डोल्पा समाचारदाता
डोल्पा, कात्तिक २२ गते । कात्तिकमै चिसो अत्यधिक बढेकाले होला डोल्पामा रुघाखोकीका बिरामी बढेका छन् । डोल्पाका विभिन्न स्वास्थ्य संस्थाहरुमा रुघाखोकीका बिरामी बढेको स्वास्थ्य सेवा कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पा, मध्य र तल्लो डोल्पामा रहेका सबै स्थानीय तहहरुमा चिसो बढेको हो । दुई तीन दिनअघि उच्च बस्तीहरुमा हिमपात भएपछि चिसो बढेको छ । जगदुल्ला गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका, काइके गाउँपालिका, त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र मुड्केचुला गाँउपालिकामा चिसो बढेको हो ।
चिसो बढेकाले डोल्पाको सबैभन्दा तल्लो भेगमा पर्ने मुड्केचुलाको कालिकामा रहेको कालिका फेमिली अस्पतालमा श्वासप्रश्वास तथा रुघाखोकीसम्बन्धी समस्या भएका बिरामी उपचारका लागि आउने गरेको उक्त अस्पतालले जनाएको छ ।
चिसो बढेकाले चिसोबाट बच्न पानी उमालेर मनतातो पिउने, तातो खाने कुराहरु खाने, तातोतातो कपडा लगाउनु पर्ने र सफासुघर गरेर बस्नुका साथै सँधै सफा वातावरणमा बनाउनु पर्ने स्वास्थ्य सेवा कार्यालय डोल्पाका डा. सिजन रावलले बताउनुभयो । चिसोबाट हुने विरामीहरु बढेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
डोल्पाका विभिन्न उच्च बस्तीहरुमा पानी जमिसकेको छ भने अन्य बस्तीहरुमा पानी निकै चिसो बनेको छ । चिसोका कारण जिल्ला अस्पताल डोल्पामा दैनिक चिसोबाट हुने बिरामीहरु खुट्टा दुख्ने, ढाड दुख्ने, खोकी लाग्ने, छाती दुख्ने लगायतका लक्षण भएका विरामीहरु दैनिक १० जनासम्म आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।