स्वास्थ्य |

काठमाडौं उपत्यकामा एक हजार ५१२ मा सङ्क्रमणको पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २१ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ५१२ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार ४२३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ५१२ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६२५ महिला र ८८७ पुरुष  छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ७५३ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार ७७ महिला र एक हजार ६७६ पुरुष छन् । दुई हजार २०६ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५ हजार ४५५, ललितपुरमा दुई हजार २२६ र भक्तपुरमा एक हजार २१६ जनामा सङ्क्रमण सक्रिय  छ । उपत्यकामा हालसम्म कुल ४०६ जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकामा नौ जना सङ्क्रमितको मृत्यु भएको हो । काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । काठमाडौंमा पछिल्लो चौबीस घण्टामा मात्रै आठ सङ्क्रमितको मृत्यु भएको हो ।