स्वास्थ्य |

काठमाडौं उपत्यकामा एक हजार ४२८ मा सङ्क्रमणको पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २४ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ४२८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १७७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ४२८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ६३० महिला र ७९८ पुरुष  छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि दुई हजार ५७१ सङ्क्रमित थपिएका छन् । जसमध्ये एक हजार ५१ महिला र एक हजार ५२० पुरुष छन् । एक हजार ७९८ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५ हजार ९८२, ललितपुरमा दुई हजार २५९ र भक्तपुरमा एक हजार १४३ जनामा सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उपत्यकामा हालसम्म कुल ४१५ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २७५, ललितपुरमा ६८ र भक्तपुरमा ७२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।