स्वास्थ्य |

दुई हजार ७३६ सङ्क्रमित थपिए, २२ जना कोभिड सङ्क्रमितको मृत्यु

गोरखापत्र अनलाइन 
काठमाडौं, कात्तिक २५ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ७३६ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ९६० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८५३ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ७३६ जना सङ्क्रमित थपिएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९९ हजार ७६० पुगेको छ । हाल ३८ हजार ३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा  ८५३ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ६० हजार ५७७  जना निको भएर घर फर्केका छन् । निकाे हुने दर ८१ प्रतिशतमा उक्लेकाे छ । क्वारेन्टिनमा ९७६ जना मात्रै  छन् ।

पछिल्लो चौबीस घण्टामा २२  जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ ।