स्वास्थ्य |

बाँकेका अस्पतालमा भर्ना भएका ९० मध्ये ४२ संक्रमितको अवस्था गम्भीर

सिराज खान
नेपालगञ्ज, कात्तिक २६ गते । बाँकेमा हाल आएर संक्रमितको संख्या धेरै बृद्धि नभए पनि विभिन्न लक्षणका साथ संक्रमण पुष्टि भभएपछि अस्पतालमा भर्ना रहेका ९० जना मध्ये ४२ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगञ्जको कोभिड विशेष अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराईरहनु भएका ९० जना संक्रमित मध्ये ४२ जनाको अवस्था निकै जटिल र गम्भीर रहेको छ ।
बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले हाल भेरी विशेष कोरोना अस्पतालमा भर्ना भएका ६० जना मध्ये २९ जना र मेडिकल कलेज कोहलपुरमा भर्ना भएका ३० जना मध्ये १३ जनाको अवस्था गम्भीर रहेको बताउनुभयो ।
उहाँले उनिहरुको उपचारका लागि दिनदिनै प्लाजमा समेत आवश्यक परेकोले प्लाज्मा दानका लागि आह्वान गर्ने काम निरन्तर गरीरहेको जानकारी दिनुभयो ।
गम्भीर अवस्थाका संक्रमितलाई आवश्यक पर्ने सबै प्रकारका उपचार पद्धती अपनाइने गरिएको अस्पतालले जनाएका छन् ।
त्यसैगरी लक्षण नदेखिएका २३१ जना संक्रमितहरु हाल होम आइसोलेसनमा रहेको पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
सो केन्द्रका अनुसार जिल्लामा हालसम्म तीन हजार ४४८ जनामा कोरोना संक्रमण देखिएकोमा तीन हजार १५० जना निको भएर घर फर्किसकेका छन् भने ३५ जनाको मृत्यु भेसकेको छ ।
जिल्लामा हाल २६३ जना मात्र सक्रिय संक्रमित रहेको पनि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।