स्वास्थ्य |

काठमाडौं उपत्यकामा ९७३ मा सङ्क्रमणको पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २७ गते । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ९७३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार २२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ९७३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । मन्त्रालयले थपिएका सङ्क्रमितमध्ये ४२८ जना महिला र ५४५ जना पुरुष रहेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि एक हजार ९१३ सङ्क्रमित थपिएका छन् । दुई हजार ३४९ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार हाल काठमाडौंमा १७ हजार ४५, ललितपुरमा दुई हजार ५१२ र भक्तपुरमा एक हजार २९२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । काठमाडाँैंमा हालसम्म २९३, ललितपुरमा ७९ र भक्तपुरमा ७५ जनाको मृत्यु भएको छ । काठमाडौंमा हाल ११ हजार ३९३, ललितपुरमा एक हजार ८३१ र भक्तपुरमा एक हजार १४ जना होम आइसोलेशनमा छन् ।
मन्त्रालयले काठमाडौंमा ५८ हजार ७४६, ललितपुरमा आठ हजार २८६ र भक्तपुरमा पाँच हजार ४८१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएको जनाएको छ ।