स्वास्थ्य | खुला |

चार महिनामा एक पटक पनि पुगेनन् स्वास्थ्यकर्मी 

डोल्पा,कात्तिक ३० गते। उपल्लो डोल्पा क्षेत्रमा पर्ने फोक्सुण्डो स्वास्थ्यचौकी करार कर्मचारीको भरमा चलेको छ । स्वास्थ्यचौकीमा कार्यरत तीन जना स्थायी कर्मचारी चार महिनासम्म पनि कार्यालयमा नपुगेपछि स्थानीय दुई जना करार कर्मचारीका भरमा स्वास्थ्यचौकी चलेको हो । अहिले स्थानीय पासाङ्ग टोमा रोकाय र हितकुमारी रोकायले स्वाथ्यचौकी धानेका छन् ।    
    
शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ मा पर्ने उक्त स्वास्थ्यचौकीमा लामो समयसम्म पनि स्थायी कर्मचारी नआएपछि स्थानीय आक्रोशित भएका छन् । स्वास्थ्यचौकीमा कार्यरत अहेब पारस शाही, अहेव चन्द्रदेव यादव र अनमी नाज्मा बानु चार महिनासम्म पनि कार्यालयमा नपुगेको वडा नं ८ का बासिन्दा तेजेन्द्र गुरुङ्गले बताउनुभयो ।    
    
“गत साउनदेखि शाही र बानु गायब छन्, स्वास्थ्यचौकी करार कर्मचारीका भरमा चलेको छ, चार महिनाको अवधिमा एक पटक पनि कार्यरत कार्यालयमा नपुग्नु कतिसम्मको गैरजिम्मेवारीपन हो”, गुरुङ्गले भन्नुभयो । साउनमा घर गएका चन्द्रदेव पनि असोज पहिलो साता आएर दुई हप्ता पनि नबसी घर फर्केको स्थानीयवासीको भनाइ छ ।    
    
स्वास्थ्यचौकीमा हाजिरी रजिष्टर हेर्दा नभेटिएकाले उहाँहरुले घरमै हाजिरी लिएको हुनसक्ने आशङ्का गरिएको गुरुङ्गको भनाइ छ । स्वास्थ्य संस्थामा कर्मचारी फर्किने दिन कुर्दाकुर्दै पनि चार महिनासम्म नपुगेपछि बाध्य भएर सञ्चारमाध्यमलाई जानकारी गराइएको बताइएको छ ।    
    
तीनै जना कर्मचारीलाई स्वास्थ्यचौकीमा फर्कन बारम्बार ताकेता गरे पनि अझै नफर्किएकाे वडा नं ८ का अध्यक्ष निमा लामाले बताउनुभयो । “स्वास्थ्यचौकीमा औषधि छ या छैन त्यो पनि थाहा छैन्, कति बिरामी आउँछन् कस्ता बिरामी आउँछन् त्यसको रेकर्ड पनि छैन्, उनीहरुले नियमित कार्यालयमा नपुगेरै तलब खाने काम गरेका छन्”, लामाले भन्नुभयो । स्वास्थ्यकर्मी नहुँदा वडा नं ८ मा पर्ने रिग्मा, सुम्दुवा, ¥याँची, छेक्पा र वडा नं ९ मा पर्ने पुग्मो गाउँका जनताले पाउने स्वास्थ्य सेवा प्रभावित हुँदै आएको उहाँको भनाइ छ ।