स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरणको दोस्रो अभियान सुरु
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ४ गते । नेपाल रेडक्रस सोसाइटी र कोकाकोला नेपालको साझेदारीमा कोरोना महामारी विरुद्ध उपयोगमा आउने स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणको दोस्रो अभियान सुरु भएको छ ।
यस अभियान अन्तरगत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको समुपस्थितिमा विहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
मन्त्री ढकालले सोसाइटीले कोकाकोलासँग समन्वय गरेर दोस्रोपटक सहयोग गरेकोमा रेडक्रसको प्रशंसा गर्नुहुँदै प्रत्येक प्रदेशमा रहेका ठुला अस्पतालमा भेन्टिलेटरको व्यवस्था गर्ने योजना अनुसार कोकाकोलासँगको साझेदारीमा रेडक्रसले प्रदान गरेको भेन्टिलेटरहरु सातै प्रदेशमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न समस्याहरुकाबीच महामारीसँग लड्नुपर्ने बाध्यतामा सबै सरोकारवालाको साथ र सहयोग प्रशंसनीय हुने बताउनुभयो ।
सोही अवसरमा उपलब्ध स्वास्थ्य सामग्रीहरु मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजकर्णिकारलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा एकसय थान सुरक्षा चस्मा, एकसय २० बाकस सर्जिकल मास्क, एकसय ५० थान सुरक्षा पोशाक, ५० बाकस पन्जा, केएन ९५ मास्क दुईसय वटा हस्तान्तरण गरिएको थियो ।
त्यसैगरी आगामी सातादेखि सात प्रदेशका तोकिएका अस्पतालहरुमा भेन्टिलेटर एक—एक थान सहित ४८ हजार थान सर्जिकल मास्क, केएन–९५ माक्स एक हजार छ सय थान, ५५० थान शुरक्षा पोशाक, सुरक्षा चस्मा ४०० वटा र दश हजार जोडी पञ्जा हस्तान्तरण गरिने सोसाइटीका कार्यबाहक अध्यक्ष शर्मिला कार्कीले बताउनुभयो ।
उक्त सामागी्रहरु कोशी अञ्चल अस्पताल मोरङ, नारायणी उपक्षेत्रीय अस्पताल पर्सा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान अस्पताल कास्की, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत र सेती अञ्चल अस्पताल कैलालीमा हस्तान्तरण हुने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।
सोसाइटीका कार्यवाहक अध्यक्ष कार्कीले सोसाइटी र र कोका—कोला नेपालको यो साझेदारी कोरोना सङ्क्रमण विरुद्ध अग्रपङ्तिमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुलाई संरक्षण गर्ने प्रयास मात्र हो भन्नुभयो ।
त्यसैगरी, सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले कोरोना रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकार तथा अन्य सरोकारवालासँगको समन्वयमा काम गरिरहेको बताउनुभयो ।
नेपाल सरकारलाई विभिन्न अस्पतालहरुलाई प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरुको कूल मूल्य करिब एक करोड चार लाख रुपियाँ बराबरको रहेको छ ।
यस साझेदारी अन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरुमा एक—एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिने सोसाइटीले जनाएको छ ।
एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको लागि व्यक्तिगत सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिने सोसाइटीले जनाएको छ ।