नागार्जुन नगरपालिकामा नौ वटा वडामा स्वास्थ्य केन्द्र विस्तार
गाेरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ६ गते । नागार्जुन नगरपालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न धमाधम शहरी स्वास्थ्य केन्द्र विस्तार गरेको छ । स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नागरिककै टोलबाट प्रदान गर्नका लागि नगरपालिकाको १० वटा वडामध्ये ९ वटा वडामा स्वास्थ्य केन्द्र विस्तार गरेको हो । नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य केन्द्र विस्तार गर्ने नीति अनुसार ९ वटा वडामा स्वास्थ्य केन्द्र विस्तार गरिसकेको छ ।
नगरपालिकाको वडा नंं १, २, ७ र ९ मा शहरी स्वास्थ्य केन्द्र निर्माण गरेको छ भने वडा नं. ३, ४, ६, ८ र १० मा स्वास्थ्य चौकी छन् । वडा नं. ५ मा शहरी स्वास्थ्य केन्द्र निर्माण हुन बाँकी रहेको नागार्जुन नगरपालिकाले जनाएको छ । नगरपालिकाको आफ्नै साधन र स्रोतबाट नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवा जनताको मौलिक अधिकारभित्र पर्ने भएकाले नगरपालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न शहरी स्वास्थ्य केन्द्रको विस्तार गर्दै गएको बताउनुभयो । उहाँका अनुसार प्रत्येक वडामा कम्तिमा एउटा स्वास्थ्यचौकी हुनुपर्ने सरकारको नीति अनुसार नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र विस्तार गरेको हो ।
वडा नं. ५ मा निर्माण हुन बाँकी रहेको सहरी स्वास्थ्य केन्द्र केही समयभित्रै निर्माण हुने तयारी भएको छ ।
विस्तार भएका स्वास्थ्य केन्द्रबाट प्राथमिक उपचार, परिवार नियोजन सेवा, गर्भवती जाँच सेवा, क्षयरोगको उपचार लगायतका स्वास्थ्य सेवा प्रदान गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लता महतले जानकारी दिनुभयो । यसैबीच नगरपालिकाको वडा नं. ९ को शहरी स्वास्थ्य केन्द्र ३ गते नगर प्रमुख बस्नेतले उघ्घाटन गर्नुभयो ।
शहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै उहाँले नागरिकलाई स्वास्थ्य सहज र सर्वसुलभ रुपमा प्रदान गर्नका लागि नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र निर्माण कार्यलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । नगरपालिकाले विस्तार गरेको सहरी स्वास्थ्य केन्द्रले कोरोना रोकथाम र नियन्त्रण कार्यमा झनै प्रभावकारी भूमिका खेल्ने नगरपालिकाले विश्वास गरेको छ ।