स्वास्थ्य |

काठमाडौं उपत्यकामा एक हजार सातमा सङ्क्रमणको पुष्टि

गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ८ गते । काठमाडौं उपत्यकामा कोरोनाका एक हजार सात सङ्क्रमित थपिएका छन् । देशभरि पछिल्लो चौबीस घण्टामा एक हजार ९८० जना सङ्क्रमित थपिएका छन् । चौबीस घण्टामा दश हजार ३८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार सात जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ४५४ महिला र ५५३ पुरुषमा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
हाल काठमाडौंमा आठ हजार ६६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौंमा ७४ हजार ८३२ जना निको भएका छन् । ३२६ जना सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा एक हजार ४९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । दश हजार ७९९ जना निको भएका छन् । ९० जनाको मृत्यु भएको छ ।
भक्तपुरमा हाल ६२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय हुँदा छ हजार ८१० जना निको भएका छन् । ८५ जनाको मृत्यु भएको छ ।