अहिलेकै अवस्थामा अझै पाँच/छ महिना लाग्न सक्छ
केशवराज पौडेल
काठमाडौं, मंसिर २२ गते । कोरोना भाइरस बिरुद्धको खोपको चर्चा विश्व बजारमै चुलिएको छ । नेपालमा पनि कोरोना बिरुद्धको खोपको बारेमा निक्कै चर्चा परिचर्चा हुन थालेका छन् । विश्वमा १० वटा कम्पनीले तेस्रो चरणमा खोपको सफल परीक्षण गरेका छन् तर कुनैले पनि त्यसको अन्तिम अनुमति भने पाएका छैनन् ।
विश्वमा खोपहरुको विकासक्रमसँगै नेपालमा कसरी र कुन समयमा खोप आउन सक्छ भनेर माइक्रो बायोलजिस्ट डा.प्रकाश घिमिरेले अध्ययन गरिरहनु भएको छ । अहिले मात्रै हैन विश्वमा समय समयमा हुने महामारीविरुद्ध लड्न बन्ने खोपमा सबै देशको समान पँहुच विस्तारमा विश्व स्वास्थ्य संगठनले विगतदेखिनै समानुपातिक खोप वितरणमा ध्यान दिएको छ ।
कोभ्याक्स(विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंक) सबैले नेपालजस्ता गरिब देशहरुमा समेत कोरोना भाइरसको खोपको सफल परीक्षण भएसँगै कसरी वितरण गर्ने भन्ने बारेमा चासो दिएको छ । कोभ्याक्सले अहिलेसम्म कुनै पनि खोप लगाउने बारेमा अनुमति दिएको छैन । कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपालले समानुपातिक रुपमा भ्याक्सिन पाउने प्रतिबद्धता व्यक्त गरेको छ । कोभ्याकले नेपाल जस्ता गरिब देशका राष्ट्रप्रमुखलाई यसको जानकारी गराइसकेको छ ।
तर अहिलेकै तयारी र विश्वमा भएको खोपको विकासक्रमलाई हेर्दा नेपालमा मार्च र अप्रिलभन्दा अघि खोप आउन सक्ने सम्भावनानै नरहेको डा.घिमिरे बताउनुहुन्छ ।
‘कोभ्याक्सले ग्लोबल्ल रुपमा अध्यनन गरेर सबै देशमा सहज उपलब्धता गराउँछ, तर कुनै पनि खोपले तेस्रो चरणभन्दा उता पार नगरेकाले नेपालमा मार्च अप्रिलसम्ममा मात्रै आउने सम्भावना छ’ डा.घिमिरेले भन्नुभयो । त्यसको लागि कोभ्याक्सका धेरै मापदण्ड पूरा गरेपछि मात्रै सबैलाई खोप उपलब्ध हुनेछ ।
कोरोना संक्रमणको अवस्था विश्वका सबै देशमा उस्तै भएकाले नेपालमा कुन देशमा बनेको खोप ठिक र कुनमा बनेको बेठिक भन्दा पनि नेपालले कुन देशमा निर्माण भएको औषधि राख्न सक्छ भन्ने कुरा मुख्य रहेको उहाँले बताउनुभयो ।
माइनस ७० र माइनस २० डिग्रीमा राख्नुपर्ने खोप नेपालले राख्न सक्दैन । नेपालमा २–८ डिग्रीसम्मको खोप उपयुक्त रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘नेपालमा २–८ डिग्रीसम्मको मात्रै खोप राख्न सक्ने क्षमता छ त्योभन्दा माथिको राख्न र ओसारप्सार गर्न सक्ने अवस्था देखिदैन’ उहाँले भन्नुभयो । ‘नेपालजस्ता देशहरुलाई हेरेर पनि कोभ्याक्सले कुन खोप सिफारिस गर्ने हो गर्छ’ घिमिरेले भन्नुभयो । अहिले चर्चामा रहेका फाइजर लगायतको कम्पनीले उत्पादन गरेको खोप नेपालमा धान्न सक्ने अवस्था छैन । विश्वमा २–८ डिग्रीसम्मका खोपहरु बन्दै गरेको कुरा पनि आएकाले त्यस्ता खोपबाट नेपालले लाभ लिन सक्छन् ।अक्सफोर्डले बनाएको खोप यस्तै प्रकृतिको रहेको चर्चा छ ।
कुनै पनि खोपले अन्तिम चरणको अनुमति पाइ नसकेको उहाँले स्पष्ट पार्नुभयो । कोभ्याम्समा जान धेरै कुराहरु पार गरेपछि मात्रै स्विकृति पाउने भएकाले नेपालमा मार्च अप्रिलभन्दा अघि खोप आउने सम्भावना न्यून रहेको उहाँले स्पष्ट पार्नुभयो ।
‘विश्वमा अहिलेसम्म प्रयोग भएका भ्याक्सिनको डोज पहिलो पटक लगाएपछि १४ दिनमा लगाउने एक खालको खोप विकास भएको छ भने अर्को २८ दिनमा लगाउने’ डा.घिमिरेले भन्नुभयो ‘सबै कुरा हेरेर मात्रै कोभ्याम्सले अनुमति दिने भएकाले मार्च र अप्रिलमा मात्रै कोरोनाको खोप नेपालमा आउने सम्भावना देखिन्छ ।’
नेपाल सरकारले समेत खोप ल्याउन संयन्त्रहरुको विकास गरेको देखिएको छ । उहाँले भन्नुभयो , ‘नेपाल सरकारले कोभ्यासले अनुमति प्रदान गरेपछि नेपालले धान्न सक्ने खोप ल्याउन धेरै ढिला गर्नुहुन्न ।’
स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम खोपको परीक्षण सफल भएसँगै नेपालमा पहिलो चरणमा खोप ल्याउने बताउनुहुन्छ । ‘खोप उत्पादन भएसँगै धनी, गरिब सबै देशका नागरिकलाई एकै पटक विश्व स्वास्थ्य संगठनले खोपको भाइल उपलब्ध गराउँछ’ डा.शर्माले थप्नुभयो, ‘त्यसको लागि कोभ्याक्सले सबै देशमा खोप उपलब्ध गराउँदैछ,खोप आएसँगै कसरी भण्डारण गर्ने र कसरी कस कसलाई लगाउने भन्ने बारेमा हामीले तयारी थालेका छौ, उहाँले भन्नुभयो । तर कुन खोप आउने भन्ने भएपछि मात्रै भण्डारणको बारेमा थप काम हुनेछ ।