स्वास्थ्य | फिचर |

काभ्रेमा सक्रिय सङ्क्रमितको संख्या एक सय ८८

केदार तिमल्सिना 
बनेपा, मङ्सिर २६ गते । काभ्रेमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ । स्वास्थ्य कार्यालय काभ्रेले जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या समेत घटेको जनाएको छ । कार्यालयले काभ्रेमा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक सय ८८ रहेको छ ।

सक्रिय सङ्क्रमितमध्ये एक सय ५ जना पुरुष र ८३ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाले जिल्लामा पछिल्लो समय कोरोना परिक्षण कम भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या कम भएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा रहेका सक्रिय सङ्क्रमितमध्ये एक सय ८० जना होम आइसोलेसन र ८ जना अस्पताल आइसोलेसनमा रहेका छन् ।

कार्यालयका अनुसार जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । बनेपा नगरपालिकामा ६९, धुलिखेल नगरपालिकामा ३०, पनौती र पाँचखाल नगरपालिकामा १५-१५ जना, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा १७-१७ जना, बेथानचोक गाउँपालिकामा १४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी खानीखोला गाउँपालिकामा चार जना, भुम्लु गाउँपालिकामा तीन जना, रोशी, तेमाल, महाभारत, चौरीदेउराली गाउँपालिकामा एक-एक जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेले शुक्रबार बनेपा नगरपालिकाबाट छ, धुलिखेल नगरपालिकाबाट तीन, पनौती नगरपालिकाबाट दुई, मण्डनदेउपुर नगरपालिकाबाट एक जना र महाभारत गाउँपालिका एक जना गरी १३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

शुक्रबार जिल्लाका दश जना कोरोना निको भई घर फर्केका छन् । हालसम्म जिल्लाका तीन हजार १०२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ भने दुई हजार ८७५ कोरोना निको भएका छन् । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ ।