स्वास्थ्य |

पीसीआर नेगेटिभ देखिए पनि कोभिड निमोनियाँ हुनसक्छ

शान्ति लामा
काठमाडौँ, मङ्सिर ३० गते । पछिल्लो समय पीसीआर परीक्षण नतिजा नेगेटिभ भएका व्यक्तिमा पनि कोभिड निमोनिया देखिएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बाँस्तोलाका अनुसार पीसीआर नेगेटिभ व्यक्तिहरु कोभिड निमोनियाको लक्षण लिएर अस्पताल पुग्न थालेका छन् । अहिले शुक्रराज सरुवा रोग अस्पतालमा मात्र पनि एक दर्जन जति त्यस्ता बिरामी उपचाररत रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कोभिड १९ को लक्षण देखिएर पनि परीक्षण गर्न ढिलाइ हुनाले पीसीआर नेगेटिभमा कोभिड निमोनिया देखिएको हो ।
डा.बाँस्तोलाले भन्नुभयो, ‘मंसिर ११ गते कोभिड निमोनियाको लक्षण लिएर ५० वर्षीया महिला अस्पताल आउनुभयो । उहाँको पीसीआर नेगेटिभ थियो । एन्टिजेन टेस्ट पनि नेगेटिभ नै आयो । यसको अर्थ उहाँको शरीरमा कोभिड एन्टिबडी तयार भइसकेको थियो । तर कोभिड संक्रमित उहाँका श्रीमान् सिकिस्त बिरामी हुँदा प्रत्यक्ष सम्पर्कमा रही हेरचाह गरेको र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा उहाँको उपचार थालियो ।’
आइसीयूमा एक हप्ता र वार्डमा एक हप्ता उपचारपछि ती महिला डिस्चार्ज हुनुभएको थियो । ‘यो घटनाले हामीलाई झस्काएको छ । त्यस्कारण लक्षण देखिएका तर पीसीआर नेगेटिभ व्यक्ति सचेत हुन जरुरी छ ।’ उहाँले भन्नुभयो, ‘परीक्षण नेगेटिभ आउँदैमा कोभिड नै होइन भनी बस्दा निमोनिया भइसकेका बिरामी उपचारबाट वञ्चित हुने अवस्था आउनसक्छ ।’
पीसीआर नेगेटिभका किन निमोनिया ?
डा. बाँस्तोलाका अनुसार लक्षण देखिएर पनि परीक्षण गर्न ढिलाइ गर्ने व्यक्तिहरुमा पीसीआर नेगेटिभ आउनसक्छ तर ती व्यक्तिमा निमोनियाले भने गाँजिसकेको हुनसक्छ ।
‘लक्षण देखिसक्दा पनि कोभिड होइन होला भन्दै परीक्षण गर्न ढिलो गर्छन् । जति ढिलो परीक्षण ग¥यो, नेगेटिभ आउने सम्भावना धेरै हुन्छ । तर ती व्यक्तिमा निमोनिया भने भइसकेको हुनसक्छ ।’ उहाँले भन्नुभयो । त्यसकारण कोभिडको जस्तो लक्षण देखिनासाथ यथाशीघ्र पीसीआर परीक्षण गराउन उहाँ सुझाव दिनुहुन्छ ।
‘पछिल्लो समयमा गरिएका विश्वव्यापी अनुसन्धानले कोभिड १९ को संक्रमण पुष्टि भएको नौ दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् । त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको अन्योलमा रुमल्लिनुभन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरी कडा लक्षण देखिएमा अस्पताल पुग्न ढिलो नगरौँ ।’ उहाँले भन्नुभयो ।
आफू कोरोना संक्रमितको सम्पर्कमा आएको थाहा पाएका व्यक्तिले पनि परीक्षण गराई भाइरस सर्नबाट अन्य व्यक्तिलाई बचाउनुपर्ने उहाँले बताउनुभयो । बिरामी धेरै भएको अवस्थामा संस्थागत माध्यमबाट कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो हुने भएकोले व्यक्ति स्वयंले पनि आफू कोरोना संक्रमितको सम्पर्कमा आएको जस्तो लागेमा परीक्षण गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।