रामधुनीमा कोभिड अस्पतालको उद्घाटन
इनरुवा समाचारदाता
इनरुवा, मंसिर ३० गते । सुनसरीको रामधुनी नगरपालिका वडा नं. ५ मा नव–निर्मित अस्थायी कोभिड अस्पताल उद्घाटन भएको छ । अस्पतालको एक कार्यक्रमकाबीच रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नन्दकुमार बस्नेत, रामधुनी ५ का वडाअध्यक्ष डेगराज फुयाल, वडा नम्बर ८ का वडा अध्यक्ष रुद्रबहादुर बस्नेत, वडा नम्बर ४ का वडा अध्यक्ष मनेशकुमार चौधरी लयागतको उपस्थिति थियो ।
नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै पाँच शैयाको कोभिड अस्पताल निर्माण गरेको नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडा अध्यक्ष डेगराज फुयाँलले जानकारी दिनुभयो । अस्पतालका लागि एकजना एमबीबीएस डाक्टर नियुक्त गरिसकिएको वडा अध्यक्ष फुयाँलले अस्पताल उद्घाटन समारोहमा जानकारी दिनुभयो । तत्काल अस्पताल ‘फिबर क्लिनिक’को रुपमा सञ्चालन गरिने र भविष्यमा ‘आइसीयू’सहितको सेवा दिने गरी विकास गरिने नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । नगरपालिकाको तीन लाख र वडा नं ५ कोे दश लाख रुपियाँ गरी कुल १३ लाख रुपियाँ लागतमा अस्पतालको भौतिक संरचना निर्माण गरिएको फुयाँलले जानकारी दिनुभयो ।