स्वास्थ्य | खुला |

त्रिशुली अस्पतालका कारण धादिङ, नुवाकोट र रसुवाबासीलाई राहत


रामहरि गजुरेल
नुवाकोट, पुष ८ गते । देशको राजधानीसँगै जोडिएको जिल्ला भए पनि केही महिना अघिसम्म सामान्य बिरामी हुनासाथ काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि लैजानुपर्ने सकस नुवाकोट र रसुवावासीले भोग्दै आएका थिए । सरकारी अस्पताल, त्यसमा पनि भवनको अभावसँगै थोरै शैया र एकदुईजना डाक्टरको भरमा बिरामी उपचार सेवा दिनुपर्ने हविगत देखेरै नागरिकहरुको यसप्रति विश्वास र भरोसा खासै थिएन । तर, अब राजधानीका ठुला र सुविधासम्पन्न अस्पतालभन्दा कम स्तरको छैन, त्रिशुली अस्पताल ।

उत्तरी धादिङसहित रसुवाले समेत स्वास्थ्य सेवा लिँदै आएको नुवाकोटको यो जिल्ला अस्पतालले दुईदेखि तीन वर्षको अन्तरालमा विभिन्न जटिल शल्यक्रियासहितको उपचार सेवादेखि पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारको विकास गर्दै विगतमाझैँ राजधानीका अस्पतालहरुमा बिरामी बोकेर दगुर्नुपर्ने झन्झट तथा बाध्यताबाट यहाँका सर्वसाधारण मुक्त भएका छन् ।

सिमित श्रोतसाधान, जनशक्ति र पुर्वाधारबिनै सञ्चालन भइरहेको अस्पताल, त्यसमा पनि राजनीति गर्ने थलोका रुपमा परिणत गरिएपछि नाजुक अस्पताललाई सफल नेतृत्व र व्यवस्थापन गर्ने सही व्यक्तिको हातमा दिँदा त्यसले जिवन पाउँछ भन्ने नमूना उदाहरण त्रिशुली अस्पतालले दिएको छ । साढे दुईवर्षयता वागमती प्रदेश सरकारको सामाजीक विकास मन्त्रालयले ले अध्यक्षका रुपमा नियुक्त गरेका अर्जुन न्यौपानेको नेतृत्वमा यसले गति लिएपछि सबैजसो स्वास्थ्य सेवा दिन अस्पताल सफल भएको नागरिकहरुको विश्वास छ । यसैक्रममा त्रिशुली अस्पतालमा बुधबारदेखि सघन उपचार कक्ष सेवा शुरुआत भएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० शैया भएसँगै सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसँगै वाग्मती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको जानकारी दिनुभयो । ‘दश शैयाको सघन उपचार सेवा अन्तर्गत अस्पतालले दुईवटा भेन्टिलेटरसहित तत्कालको लागि छ शैयाको सघन उपचार कक्ष र चार शैयाको अक्सिजन शैया (हाई डिपेन्डेन्सी युनिट–एचडीयू) सेवा शुरु भएको छ’, उहाँले भन्नुभयो, ‘सेवा सञ्चालनमा आएसँगै जटिक र आकस्मिक बिरामी राजधानीका अस्पतालतिर बोकेर धाउनुपर्ने बाध्यता टरेको छ भने सरकारी अस्पताल भनेर हिजोका दिनमा वेवास्ता गरिने अस्पताल अहिले मेरो आफ्नै अस्पताल हो भन्ने भरोसा सबैमा विकास भएको छ ।’
अस्पतालले कोभिड–१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ । सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो । उपकरण जडानको काम पूरा भएसँगै दक्षजनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो । अस्पतालले दुई वटा भेन्टिलेटरसहित छ बेडको आईसीयु र चार बेडको एचडीयु सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले वताउनुभयो । अस्पतालले कोभिड (१९ का गम्भीर बिरामीहरुलाई पहिलो प्राथमिकतामा राख्दै आईसीयु सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष न्यौपानेले श्वासप्रश्वासका समस्या भएका बिरामीहरु, मुटुका समस्या भएका बिरामीहरु, अत्याधिक ज्वरो, मेनेन्जाईटिस, ईन्सेफ्लाईटिस, सडक दुर्घटनामा परेकाहरु, सुत्केरी गराउँदा जटिल समस्या देखिएकाहरुलाई भेन्टिलेटरको अभावका कारण थप उपचारका लागि काठमाडौं नै पठाउनुपर्ने बाध्यताबाट गुज्रिरहेको त्रिशूली अस्पतालमा आईसियु सेवा सुरु हुनुलाई जिल्लाको स्वास्थ्य सेवाको क्षेत्रमा ऐतिहासिक उपलब्धि भएको दाबी गर्नुभयो । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेको अस्पतालले पुनःनिर्माणपश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा दिँदै आएको छ । अस्पतालमा गत कात्तिकदेखि कोरोना जाँच गर्ने प्रयोगशाला (पिसिआर) समेत सञ्चालनमा आएको छ ।

मनोचिकित्सा विशेषज्ञ सेवा
त्रिशुली अस्पतालमा मानसिक अस्पताल लगनखेलको बिशेषज्ञ सेवा उपलब्ध हुन थालेको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता भएको छ । अस्पतालमा हरेक महिनाको दोस्रो सोमबार मानसिक तथा नशा रोग विशेषज्ञबाट सेवा प्रदानको लागि दिनको लागि मानसिक अस्पताल ललितपुरका निर्देशक डा. मुकुन्दराज श्रेष्ठ र त्रिशुली अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा .दिपेन्द्र पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

अस्पतालमा जनरल मानसिक स्वास्थ्य सेवालाई बिस्तार गर्दै विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउने योजना अनुसार यी सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट पाण्डेले जानकारी दिनुभयो । त्रिशुली अस्पतालमै मानसिक अस्पतालको सेवा उपलब्ध हुने भएपछि नुवाकोट, रसुवा र धादिङका नागरिकहरूमा सहज भएको छ । मानसिक सेवा लिनको लागि काठमाडौं पुग्नुपर्ने बाध्यता अब हटेको छ । प्रदेश सरकारले स्वास्थ्य सेवा सुविधालाई सुदृढीकरण गरी त्रिशुली अस्पताललाई एक सय शैयाको अस्पतालमा विकास गर्ने लक्ष्य समेत लिएको छ ।